रुवी र चोकबहादुर कुमाल एचआइभी छ कि छैन भनेर रगत परीक्षण गर्दै।रुवी र चोकबहादुर कुमाल एचआइभी छ कि छैन भनेर रगत परीक्षण गर्दै। तस्बिर : चाँदनी हमाल
चितवन - नवलपरासी गैंडाकोट १ की रुवी कुमाल (२१) र उनका साथी चोकबहादुर कुमाल (२२) चितवन
मेडिकल कलेजको काउण्टरमा टिकट काट्दै थिए। कुनै गम्भीर बिरामी परेर उनीहरुले बिरामीको टिकट काटेका हैनन्। बिहे हुन एकहप्ता अघि एचआईभी/एड्स परीक्षण गरेर ढुक्क हुन अस्पताल उनीहरु आइपुगेका थिए। चोकबहादुर दुईवर्षदेखि कतारमा मजदुरी गर्दै आएका छन्। रुवी गाउँघरमै रोजगारी गर्छिन्। प्लस टु पढेकी रुवीलाई मन पराउँदै चोकबहादुरले मागी विवाहको प्रस्ताव गरे। दुवैका परिवारले बिहेको मन्जुरी दिए।
गहना गुडियाको किनमेल अनि बिहेको तयारीमा आफन्त व्यस्त छन्। 'तर मनमा अझै पनि उ प्रति पुरा विश्वास पलाउन सकेन,' रुवी भन्छिन्, 'विदेश बसेको केटा के थाहा कति सँग पल्क्योहोला।'
त्यही शंकामा फकाईफुल्याई चोकबहादुरसँगै आफ्नो पनि एचआइभी परीक्षण गराउन रुवी अस्पताल पुगेको बताउँछिन्। दिदीको छिमेकमा केटाले केटीलाई बिहे लगत्तै एचआईभी सारेर बालबच्चा समेत बिचल्ली बनाएको घटनाले रुवीलाई यसरी सतर्क बनाएको हो।
'एकछिन् नसोच्दा जीवन बर्बाद हुनसक्छ,' रुवी सुनाउँछिन्,'त्यसैले बिहेअघि ढुक्क हुन दुवेले एचआइभी परीक्षण गरेका हौँ। यही भदौको कृष्ण अष्टमीका दिन उनीहरुको बिहे तय भइसक्यो।' यदि रगत परीक्षण पोजेटिभ आएको भए बिहे रोकिन्थ्यो। तर रगत परीक्षणमा नेगेटिभ नतिजाले दुवै खुशीले गद्गद् छन्।
'कतारमा काम गरेपनि यताउता लागेको थिइनँ,' चोकबहादुर भन्छन्, 'मनको सन्तोकको लागि उसको कुरा मानेर परीक्षण गराए अब ढुक्क छु।' अरु युवायुवतीले पनि बिहेअघि यस्तै परीक्षण गर्न उनी सुझाव दिन्छन्।
उनीहरुले झै पहिल्यै वुद्धि नपुर्यायउँदा धेरै युवती एचआईभी संक्रमणको सिकार बन्न बाध्य भएका छन् । चितवनकी सानु तामाङ (नामपरिवर्तन)लाई त्यसैगरी विदेसिएका श्रीमानले एचआईभी सारिदिए। यसैको कारण उनको मृत्यु भयो। तर सानुलाई भने समाजमा बस्न पनि गाह्रो भएको छ।
सानुलाई झै सुर्तिमा केसी(नामपरिवर्तन)लाई पनि विदेश पुगेका श्रीमानले कलिलै उमेर एचआईभीको शिकार बनाइदिए। भर्खरै बच्चा जन्माएकी सुर्तिमा मृत्युसँग लड्दै छिन्। उनका श्रीमान पनि रोगले थलिएका छन्।
दुवै युवती केही समय जीवन लम्ब्याउन एचआइभीको औषधी एआरभी लिइरहेका छन्।
'कसैको आँखा चिम्लेर भरोसा गर्नु आफ्नै जीवन नष्ट पार्नु हो,' उनीहरु भन्छन्, 'एचआइभी लागेपछि परिवार र समाजको आँखामा कसिंगर बन्नुभन्दा बिहेअघि नै परीक्षण गरेर ढुक्क हुनु राम्रो।'
चितवनमा बिहे गर्ने उमेरका युवायुवती एचआइभी जोखिममा रहेको जिल्ला एड्स समन्वय समिति चितवनका संयोजक रामहरी न्यौपाने बताउँछन्। 'ड्रग्स लिने युवकयुवती उत्तिकै बढ्दो छ,' उनी भन्छन्, 'वेश्यावृतिमा लागेकाले पनि युवायुवतीमा एड्स सार्ने प्रबल सम्भावना छ।' त्यसैले पनि युवकयुवतीहरुले बिहे अघि अनिवार्य एचआइभी परीक्षण गराउन उनी सुझाव दिन्छन्। समाज बढी स्वतन्त्र र स्वच्छन्द हुँदै गएकाले पनि युवकयुवती एचआइभीको उच्च जोखिममा रहेका उनको भनाइ छ। समितिको तथ्याङ्कमा ४२ प्रतिशत संक्रमित महिलालाई विदेसिएका श्रीमानहरुले एचआइभी सार्ने गरेको उल्लेख ख।
चितवनमा बवेश्यावृतीमा संलग्न ९ सय ५१ मा करिव १० एचआइभी संक्रमित छन्। उनीहरुको संसर्गमा जाने युवयुवतीले असुरक्षित यौन सम्बन्ध राखे सिधै एड्सको सिकार हुनेछन्। त्यस्तै ७५ जना तेस्रो लिंगीमा ८ जनामा एड्स छ। तिनीहरु खुलेआम वेश्यावृतिमा संलग्न छन्।
युवायुवतीलाई जोगाउन बिहे अघि तथा पछि पनि समयसमयमा एचआइभी परीक्षण गर्नुपर्ने ज्ञान दिन स्कुलबाटै प्रशिक्षित गराउनुपर्ने न्यौपानेले बताए। 'प्लस टु पढ्दै गरेका युवायुवतीलाई कलेजमै यसबारेको शिक्षा अनिबार्य गर्ने नीति सरकारले ल्याउनुपर्छ,' उनले भने, 'नत्र युवायुवतीको एकछिनको लहडले पुरै जीवन नष्ट हुन्छ।'
चितवनमा गर्भवतीलाई तीनवटा र अन्यका लागि सातसेन्टरमा एचआईभी परीक्षणको व्यवस्था छ। तर यसबारेमा युवायुवती अनविज्ञ छन्। गर्भवतीले जुटपानी, माडीको बगौडा र भरतपुर अस्पतालमा परीक्षण गराउन सक्छन् भने अरुले परिवार नियोजनको कार्यालय भरतपुर, मानव सचेत समाज क्षेत्रपुर, सहभागी संस्था बसपार्क, नमूना एकिकृत विकास परिषद् लीलाचोक र हाकिमचोक, चितवन सक्रिय समूह लाहुरेटोल र भरतपुर अस्पतालमा एचआइभी परीक्षण गर्न सक्छन्।
चितवनमा ९ सय ५ जना एचआइभी संक्रमित रहेका एक तथ्याङ्क छ। जसमा ४५ प्रतिशत महिला छन्। चितवनका ४३ सहित ७२ जना एचआइभी लागेका बालबालिका उपचाररत छन्।