हत्याको अनुसन्धान अघि नबढाउन प्रचण्डको चेतावनी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान अघि नबढाउन सरकारलाई चेतावनी दिएका छन् । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले घटनालाई नाटकीय ढंगले उचालेर, पूर्वाग्रही ढंगले कपोलकल्पित ढंगले प्रचारबाजी गरी अगाडी बढाइएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी दम्पत्तिको अनसन प्रकरण अदृश्य शक्तिको गुरुयोजना अनुसार अघि बढेको आरोप लगाए । एमाओवादीले द्वन्द्वकालिन सबै घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गर्न सरकारसामु आग्रह गरेको छ । अनसन प्रकरणमा विभिन्न संघसंस्थाको हात रहेको आरोप लगाउँदै प्रचण्डले यस्तो चलखेले गर्दा समग्र शान्ति प्रक्रियामा नै  गम्भीर अवस्थाको सृजना उत्पन्न हुने बताए ।