रामेछापको खिम्तीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनासहित ७ जनाको मृत्यु

रामेछाप, साउन २९ । रामेछापको खिम्तीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनासहित ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने एक वेपत्ता छन् । उता दार्चुला जिल्लामा सोमबार राति बाढीले ४ वटा घर र २० रोपनी खेत बगाएको छ ।

खिम्ती-४ शिवालयमा लगातारको वर्षासँगै आएको पहिरोले भीमबहादुर तामाङको घर बगाउँदा तामाङसँगै उनकी श्रीमती बाटुली र आमाको मृत्यु भएको छ । यस्तै कटुन्जेमा मिठु थापाको घर पहिरोले पुरेको छ । पहिरोमा परि मिठुसँगै उनकी छोरी स्वस्थानी र छोरा केदारको मृत्यु भएको छ भने अर्का एव बेपत्ता छन् ।

खिम्ति ३ मा शेरबहादुर सुनुवारकी ११ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ र हेमबहादुर तामाङको देविटारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीले खिम्तीका ६ घरसमेत बगाएको छ भने बजार पूरै जलमग्न भएको छ ।

रामेछापका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गए पनि स्थानीय खानीखोलामा आएको बाढीका कारण बिहान ७ बजेमात्रै घटनास्थल पुगेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले उद्धार कार्यलाई जारी राखेका छन् भने बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

दार्चुलामा बाढीले ४ घर र २० रोपनी खेत बगायो

यसवीच दार्चुलामा महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार राति होपरीगाढ खोलामा आएको बाढीले दार्चुलाको धुलागाढा र सिप्ती गाविसका ४ घर बगाएका छन् । बाढीका कारण मानवीय क्षति नभए पनि घरमा रहेका गाईवस्तु र खाद्यान्नसमेत सम्पूर्ण सामान बगाएको छ ।

जिल्लाको सिप्ती र धुलीगाढा गाविसमा पर्ने २० रोपनी खेतमा लगाइएको धान र मकैबालीसमेत खोलाले बगाएको छ । बाढीका कारण सिप्ती र धुलीगाढा जोड्ने झोलुङे पुलका साथै धुलीगाढा- गोकुलेश्वर सडक खण्डमा समेत क्षति पुगेको दार्चुलाका डीएसपी टीकाबहादुर केसीले बताउनुभयो ।

घटनास्थल दुर्गममा पर्ने भएकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन । प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको छ ।