बार्सिलोना (स्पेन), श्रावण २७ - नेपाल र स्पेनबीचको कुटनीतिक सम्वन्ध प्रत्यक्ष नभएका कारण धेरै समस्या व्यहोर्नु परेको जनाउँदै यहाँका प्रवासी नेपालीहरुले तत्काल राजदूताबास स्थापनाको माग गरेका छन् ।
स्पेन र नेपाल दुवैको राजदूतावास छैन । फ्रान्सस्थित नेपाली राजदूतावासले स्पेनसमेत हेर्ने गर्दछ । राजदूतावास नहुँदा भिषा लगाउन र डकुमेन्ट प्रमाणित गर्न समस्या परेको प्रवासी नेपालीहरुको गुनासो छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव धनञ्जय झाको नेतृत्वमा बनेको आयोगले केही समयअघि स्पेनमा समेत राजदूताबास आवश्यक रहेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा ओमन, बहराइनमा स्थापना भइसकेको छ । तर, स्पेनमा आर्थिक अभाव रहेको कारण जनाउँदै सरकारले स्थापना गरेको छैन ।
गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले राजदूताबास स्थापनाका लागि नेपाल सरकारलाई पटकपटक लबिङ गर्दापनि हुन नसकेको बताउदै यसले धेरै नेपालीले दुःख पाएको बताए ।
उनका अनुसार परिवार ल्याउन चाहने नेपालीहरुलाई भिषा लिन सवैभन्दा बढि समस्या छ । त्यसपछि डकुमेन्ट प्रमाणित गर्न र पुलिस रिर्पोट बनाउन समेत कुटनीतिक सम्वन्ध अभावले पटकपटक समस्या झेल्नु परेको गिरीले बताए ।
'चालिस बर्षकै जनशक्तिको आधारमा फ्रान्समा दुतावास चलेको छ । त्यसले स्पेनलाई हेर्न सक्दैन,' उनले भने, 'भिषा लिनका लागि लाखौ रुपैया घुस दिनुपर्ने अवस्था छ ।'
स्पेनका कानून अनुसार यहाँको नगरपालिकामा दर्ता गराएर बसेको तीन बर्षपछि काम गर्ने कागज पाइन्छ । त्यसको एक बर्षपछि श्रीमती, छोराछोरी झिकाउन पाइन्छ । नेपालमा स्पेनको दूताबास छैन । स्पेन आउने नेपालीले भारतस्थित स्पेनिस दुताबासबाट भिषा लगाउनुपर्छ ।
एनआरएन स्पेनका निवर्तमान महासचिव विष्णु रिजालका अनुसार, भिषाका लागि चार/पाँच लाख रुपैया घुस दिनुपर्ने अवस्था छ । केही समयअघि फ्रान्सको राजदूताबास मार्फत केही कम भएपनि अहिले फेरी व्यूतिन थालेको उनी बताउछन ।
स्पेनको दिल्लीस्थित दूताबासमा भिषाका लागि एप्लाई गर्दा जाँचबुझका लागि शुल्क मात्रै ४० हजार बुझाउनु पर्छ । त्यही शुल्कको आधारमा दिल्लीस्थित स्पेनको दूताबासका भारतीय कर्मचारी नेपालमा आएर बुझ्ने गर्छन् । त्यतिबेला नै उनीहरुले घुस माग्ने गरेको रिजालको भनाई छ । युरोपमा आउन चाहने नेपालीहरुको पहिलो गन्तव्यनै स्पेन र पोर्चुगल हो । यी दुई देश बाहेक सजिलै काम गर्ने कागज अन्य मुलुकले दिदैनन । स्पेन र पोर्चुगलमा एप्लाई गरेको तीन बर्षमा काम पाउने कारणलेपनि नेपालीहरुको संख्या यहा्रँ हृयात्तै बढेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाका अनुसार अहिले स्पेनमा मात्रै आठ हजार नेपालीको संख्या पुगीसकेको छ । अझ एक, दुई बर्षमा यो संख्या बढेर दश हजारको हाराहारीमा पुग्नेछ ।
'नेपालमा स्पेनको दूताबास नहुँदा परिवार ल्याउनकालागि भिषा एप्लाई गर्न भारतमा जानुपर्छ । भारतमा एउटा त भिषा पाउननै झन्डै एक बर्ष लाग्छ । अर्को परिवार बुझ्ने नाममा आउने कर्मचारीलाई घुस नखुवाई काम हुँदैन' हामीलाई सवैभन्दा ठुलो समस्या नै दूताबास नहुदा भएको छ । त्यसैले दूताबास चाँडै खोलिदिएमा यी समस्या हल हुनेछन ।'
पछिल्लोपटक नेपाल सरकारले प्रमाणित गर्ने डकुमेन्टले पनि समस्या पर्ने गरेको गुनासो नेपालीहरुको छ । किताव खानाले गर्ने विवाह दर्ता, चारित्रिक प्रमाणत्रलगायतको प्रमाणित कागजमा नेपाल परराष्ट्र मन्त्रालयले छाप लगाउने गर्छ । अहिले त्यस्तो छाप लगाउँदा नेपाल सरकारले 'यो डकुमेन्टप्रति नेपाल सरकार जिम्मेबार छैन,' भन्ने भाषा अंकित गरिएको छ । जसलाई स्पेन सरकारले समेत यहा्रँ मान्यता दिन छाडेको उनीहरु बताउछन ।
'दुई देशबीचको कुटनीतिक सम्वन्ध नै छैन भनेपनि हुन्छ । काठमाडौंस्थित स्पेनिश काउन्सिलर समेत नेपालमा भेट्टाउन गाह्रो हुन्छ । नेपाल सरकारको स्पेनिश काउन्सिलरले यहाँको कानूनबाहेक दायाँबाँया केही गर्दैन, यसले ठूलो समस्या खडा गरेको छ,' लामो समयदेखि स्पेनमा बस्दै आएका ईन्द्र अधिकारीले भने, 'राजदूत स्थापना भएमा सहजीकरण हुन्थ्यो ।' राजदूताबास नहुँदा नेपालीहरुलाई राहदानी लिन समेत गाह्रो परेको ईश्वरी शर्मा बताउँछन् ।
प्रकाशित मिति: २०७० श्रावण २७ ०६:२६

